सुदुरपश्चिममा किसानहरुले गोबर मल र रासायनिक मलको अभावमा ‘ढैैँचा’ नाम गरेको विरुवाबाट मल बनाउने विकल्प रोजेका छन्।

बीउ छरेको २० देखि २५ दिनपछि तयार हुने उक्त बिरुवालाई खेतमै कुहिएर मल बन्ने स्थानीय कृषकहरु बताउछन्।

उनीहरुको अनुसार गोबर मल र रासायनिक मलको अभाव भएको बेला खेतमा ढैैँचा बिरुवा उमारेर मलको रूपमा प्रयोग गर्दा बाली राम्रो हुने गर्दछ। खेतमा यो बिरुवाको बीउ छरेर सिँचाइ गर्नुपर्छ। करिब २० देखि २५ दिनमा ढैचा तयार भइ माटोमै कुहियाँउदा उत्कृष्ट मल बन्ने कञ्चनपुरका कृषक किसन चौधरीले जनाकारी दिनुभयो।

यस्तै कतिपय अवस्थामा किसानहरुले धान रोपाइँ गर्नुअघि खेतमा रसायन मलको सट्टामा ढैैँचा उमारेर मल बनाउने गरेका छन्। साथै माटोको उर्बरा शक्ति बढाउनका लागि पछिल्ला वर्षमा कतिपय किसानले यो ढैँचाको खेती गर्न सिकेको किसान एग्रोभेट धनगढीका प्रमुख विष्णुराज बुर्लाकोटीले जनाउनुभयो।

यसैगरी ढैैँचाको सट्टामा मुमको खेति गर्दा माटोको उर्बरा शक्तिमा वृद्धि हुने एग्रोभेट धनगढीका प्रमुख बुर्लाकोटिले बताउनुभयो। उहाँले भन्नुभयो “माटोको उर्बरा शक्ति बढाउन यो ढैँचा खेतीको अलावा मुमको खेतीसमेत गर्न सकिन्छ”, उहाँले फेरि थप्नुभयो, “मुमको कोसा टिपिसकेपछि बोटलाई खेतमै खनजोत गर्दा त्यसबाट पनि मल बन्छ ।”

रासायनिक मलको प्रयोग गरेर कृषि बालीबाट छिटो आम्दानी खोज्ने किसानको बानीका कारण ढैँचा र मुमको खेती गरिने क्षेत्रफल त्यति धेरै नरहेको उहाँको भनाइ छ।

यस वर्ष भने धानको रोपाइँ सुरु भैसक्दा पनि कैलाली लगायत विभिन्न स्थानमा मलको अभाव भएको छ। यसअघि किसानहरुले घरमा गाई, भैँसीलगायतका पशु चौपाया पाल्ने चलन रहेको थियो तर पछिल्लो समय यता किसानहरु रसायन मलमा आकर्षित भएपछी पर्याप्त गोबर कम्पोष्ट मलको समेत अभाव हुँदै गएको हो ।

यस्तै किसानहरुले एकपटक रासायनिक मल प्रयोग गरिसकेको खेतमा अर्कोपटक रासायनिक मल प्रयोग नगर्दा धान, गहुँलगायतका बालीको उत्पादकत्व निकै कम हुने गरेको बताउछन्। कृषकहरुलाई यो मल प्रयोग गर्नैपर्ने बाध्यता रहेको छ।

अहिले कैलाली जिल्लाका लागि डिएपी र युरिया मलको मौज्दात नरहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले जनाएको छ। उक्त कम्पनीले सुदूरपश्चिमका लागि छुट्याइएको कोटाको मलसमेत समयमै ल्याउन व्यवसायीले नमानेपछि मलको मौज्दात सकिएको कार्यालयका प्रमुख नबलसिंह बोगटीले बताउनुभयो।

उहाँको अनुसार कृषि सामग्रीको धनगढी कार्यालयको सिफारिसपत्र लिएर कतिपय कृषि सहकारी संस्थाका प्रतिनिधि आफैँ भैरहवाको कृषि सामग्रीको कार्यालय पुगेर मल ल्याउन थालेका छन् ।

कार्यालयका प्रमुख नबलसिंह बोगटीले दिएको जानकारी अनुसार सरकारी अनुदानकोे रासायनिक मल कृषि सहकारी संस्थामार्फत कृषकलाई वितरण गरिने गर्दछ। वर्षभरिमा धान र गहुँ बालीका लागि मात्रै प्रदेशमा ५० हजार मेट्रिक टनभन्दा बढी मलको आवश्यकता पर्छ। हालै सुदूरपश्चिमका लागि दुई हजार १६९ मेट्रिक टन कोटा छुट्याइएको बताइएको छ। भैरहवामा अहिले मलको अभाव रहेको छ।

Recent Post