नेपालको पूर्वी सिमानाका काँकडभिट्टा भएर कृषिजन्य वस्तु बढी आयात भएको पाइएको छ।

चालु आर्थिक वर्षको ११ महिना भित्र उक्त नाका भएर रु. आठ अर्ब ६७ करोड २० लाख ६० हजार बराबरको कृषिजन्य वस्तुको आयात भएको हो।

यस्तै सोहि नाका हुँदै रु सात अर्ब ४१ करोड ८९ लाख तीन हजार बराबरको वस्तुको निर्यात भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ । साथै रु तीन अर्ब ९५ करोड ९६ लाख ४० हजार बराबरको ८०० मेट्रिक टन अलैँची निर्यात भएको कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले बताउनुभयो।

उहाँको अनुसार नेपालमा उत्पादित अलैँची भारत, बङ्गलादेश र रसिया लगायत देशहरुमा निर्यात भएको छ। नाका भएर दोस्रोमा चिया, तेस्रोमा मुसुरो दाल, अम्लिसो, अदुवा, जडीबुटीजन्य पदार्थ, प्लाइउड, तोरीको पिना, वन लसुन बढी मात्रामा निर्यात भएको हो।

यस्तै नेपालमा सबैभन्दा बढी आयात भटमासको सोयाविन हुने गर्दछ। जसमा बङ्गलादेशबाट रु तीन अर्ब ८० करोड ७७ लाख ७५ हजार बराबरको ७० मेट्रिक टन सोयाविन आयात भएको अधिकृत साहुले जानकारी दिनुभयो भयो।

साथै अहिले भटमासको सोयाविन पशुजन्य आहारामा बढी प्रयोग हुँदै आएको समेत उहाँले बताउनुभयो।

पछिल्लो समयमा जेठ मसान्तसम्ममा खाद्यान्न रु ९८ करोड ४३ लाख ६९ हजार, दलहन (गेडागुडी) रु एक अर्ब ३३ करोड ८१ लाख १४ हजार आयात भएको छ।

उहाँले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष ०७९/०८० मा ताजा तरकारी रु १४ करोड ७१ लाख ९० हजार, ताजा फलफूल रु ४७ करोड ७७ लाख २२ हजार, मसलाजन्य वस्तु रु एक अर्ब बढीको आयात भएको छ।

Recent Post