नेपालको राष्ट्रिय गानको रचना गर्ने प्रदिप कुमार राई (ब्याकुल माइला)लाई सरकारले मासिक ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ। यसअघि सरकारले ब्याकुल माइलालाई मासिक रुपले २५ हजार रुपैयाँ दिंदै आएको थियो।

उनलाई मासिक रुपले ५० हजार रुपैयाँ दिने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो। साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संस्कृतिविद् एवं शताब्दी पुरुष श्री सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाह गर्ने एक नर्सलाई खटाउने निर्णय गरेको समेत उहाँले बताउनुभयो।

आज प्रवक्ता कार्कीले मन्त्रिपरिषदको निर्णयहरु सुनाउन्दै सरकारले थर्ड मिनिस्टेरियल कन्फ्रेन्सन रिजनल इकोनोमिक कोअप्रेशन एण्ड इन्ट्रीगेशन इन एशिया एण्ड द प्यासिफिकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेललाई स्वीकृत दिने निर्णय गरेको जानकारी दिनुभयो।

साथै सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित गर्न सवारी साधनको यान्त्रिक परीक्षण, भारवहन क्षमता सवारीको गति, टाइम कार्डको अवलम्वन लगायतका विषयमा अनुगमन, नियमन, सुरपरीवेक्षण, निर्देशन र समन्वयगर्न गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा एक समिति गठन गरी जिम्मेवारी दिने सरकारले निर्णय गरेको समेत उहाँले बताउनुभयो।

Recent Post