
आज नवरात्रको मुख्य दिने अर्थात विजय दशमी। आश्विन शुक्ल दशमीका दिनमा विशेष मनाइने यो पर्व आज दुर्गापक्षको दिनमा मान्यजनको हातबाट नवदुर्गाको प्रसाद टीका र आशिर्वाद ग्रहण गरिंदै छ।
दसमीको दिन टिका लगाउने आज बिहान ११:५१ बजे उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साथै बिहान १०:३४ बजे देवी विसर्जन गरी ११:५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समेत जनाइएको छ।
यस्तै आज घरमा विधिपूर्वक राखिएको जमरा र टिका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टिका तथा आशिर्वाद लिने चलन छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ ।
नौ दिनसम्म पूजा अर्चना गरेको जमरा अनि दही, रातो अबिर, केरा र चामलसहितको सम्मिश्रणबाट तयार पारिएको रातो बाक्लो अक्षताले निधार भरिने टीका नै विजया दशमीको महत्त्वपूर्ण सकल परिवार एकै ठाउँमा बसेर, घरको मूल खाँबो पूजा गरेर उमेर क्रमानुसार ठुला अनि क्रमशः सानाहरूले टीका, जमरा र आर्सीवाद थाप्ने चलन रहेको छ ।
घरतर्फ टीका लगाउँदा शुभाशिष सहित दक्षिणा दिनुपर्ने र मामाघरमा लगाउँदा दक्षिणा पाइने चलन छ । केटाकेटीहरू टीका थापेपछि नयाँ, बास्नादार नोटहरू हात–हातमा लिएर हिँडेको पसल पसल धाउने गरेको दृश्य निकै रमाइलो देखिन्छ।
वैदिक सनातन धर्मानुयायीहरू ले दसैँको आर्सीवादलाई पौराणिक पात्रहरू र तिनको महारथसँग जोडेका छन् । आज दशमी तिथि अर्थात् विजया दशमीको दसौँ दिन अनि यसै दिनमा पर्ने यो दिन दशमी र दशहराबाट आएको शब्द हो । दशहराको अर्थ हो, दशानन रावणको पराजय (दशानन अर्थात् दश = दस + आनन = मुख) । आजैको दिन दुर्गा भवानीले महिषासुर नामक असुर को वध गरेको भनेर पनि उल्लेख गरिएको छ । यी टीका, जमरा अनि रमाइलोको माहौल दैत्यहरूमाथि देवताहरूको विजय, असत्यमाथि सत्यको विजय अनि अमानवीय तत्त्वमाथि मानवताको विजयका रूपमा लिइन्छ ।
यस्तैगरि त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बाआमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।
आज टीका लगाउँदा महिला र पुरुषलाई भिन्न–भिन्न आर्सीवाद दिने समेत गरिन्छ। वैदिक सनातन धर्मका मन्त्रहरू नेपालीमा या अन्य भाषामा त्यति छैनन् । अनेक देवी–देवतालाई पुकार गर्दा संस्कृत भाषामै भएका अनेक अर्थयुक्त मन्त्रहरू उच्चारण गर्ने गरिन्छ । आज नेपालका घर–घरमा रातो टीका, जमरा अनि यी मन्त्रहरू शब्दोचारित हुने गर्छ ।
पुरुषलाई टीका लगाइदिँदा भन्ने आशीर्वाद
ॐ
आयु द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
अर्थात् ॐ द्रोण पुत्र अश्वत्थामाको जस्तो आयु होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो अजात शत्रुता हरणको क्षमता होस्, राजा नहुनको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस् ।। सूर्य पुत्र झैँ दानी होस्, भीमको जस्तो बल होस्, युधिष्ठिर जस्तो सत्यवान् होस्, विदुरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होओस् ।
महिलालाई टिका लगाइदिँदा भन्ने आशीर्वाद
ॐ
जयन्ती मङ्गलाकाली,
भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वधा नमोऽस्तुते ।
अर्थात, ती देवी जसले सम्पूर्ण संसारलाई नै विजय गर्न सक्ने सामर्थ्य राख्छिन् । जो हरेक अन्धकारको निदान गर्न सक्छिन् । समयको पाबन्दीभन्दा पर रहेकी ती देवी जो मानव खप्परको माला लगाउँछिन् अनि हरेक प्रकारका दुःखको निदान गर्न सक्छिन् । यो जगत को रक्षा गर्ने हे देवी ! यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौँ ।
आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंँड्ने मानिसको विभिन्न चोक गल्लिगल्लीमा भीड देख्न सकिन्छ ।