आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन लक्षित गर्दै आयोगले ‘टिकटक भिडियो प्रतियोगिता’ गर्ने भएको छ । निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमाथि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई रु. ५० हजार रुपैयाँ राशिको पुरस्कार दिने निर्णय गरेको हो।

आयोगले उक्त विषयहरुमाथि टिकटक भिडियो बनाउन आह्वान गर्दै सहभागी प्रतियोगीहरुलाई २० सेकेण्डदेखि १ मिनेटसम्मको भिडियो बनाएर आयोगको इमेल ठेगाना पठाउनुपर्ने जानाइएको छ। यस्तै ५ गते देखि १५ गतेभित्र निर्वाचन सम्बन्धि टिकटक बनाएर पठाइसक्नु पर्ने छ। जसमा उत्कृष्ट पाँच वटा भिडियोलाई जनही ५० हजार रुपैयाँ पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्ने समेत आयोगले जनाएको छ।

यस्तैगरि आयोगले यस टिकटक प्रतियोगितामा सहभागीहरुको लागि विभिन्न सर्तहरु राखेको छ। ‘भिडियो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लक्षित हुनुपर्नेछ । भिडियो संवादमूलक, सन्देशमूलक हुनुपर्नेछ । आफ्नै मौलिक अडियो र अभिनय भएको भिडियोलाई प्राथमिकता दिइनेछ । भिडियो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदाता जागरण हुने खालका विषयवस्तुमा आधारित हुनुपर्ने आयोगको टिकटक प्रतियोगिताको सर्तमा उल्लेख गरिएको छ।

‘निर्वाचनको सामान्य जानकारी, निर्वाचनको आवश्यकता र महत्व, मतपत्रमा छाप लगाउने सही तरिका, निर्वाचन आचारसंहिताको पालना, मतदाताको अधिकार र कर्तव्य, मतदाताले कस्तो उम्मेदवार छनोट गर्नुपर्छ भन्ने जानकारीलगायत निर्वाचन सम्बन्धी विषयमा आधारित भएर छुट्टाछुट्टै भिडियो बनाउन सकिनेछ ।’

कुनै एक व्यक्तिले एउटा विषयमा ५ वटासम्म भिडियो पठाउन सकिने छ । साथै दुई वा दुईभन्दा बढी व्यक्ति समावेश भएर निर्माण गरिएको ५ वटासम्म भिडियो स्वीकार गरिनेछ । तोकिएका शर्तको पालना नभएका र म्याद नाघी प्राप्त भएका भिडियो स्वीकार गरिने छैन ।’ साथै उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ तथा आयोगका अधिकारी रहेको समितिबाट गरिनेछ । उत्कृष्ट भिडियोमध्ये छनोट समितिको सिफारिसमा रु। ५०,०००।–(पचास हजार) पुरस्कार र प्रसंशापत्र प्रदान गरिने आयोगले जनाएको छ।

आयोगको अनुसार भिडियो २० सेकेन्डदेखि १ मिनेटसम्मको भएमा मात्र मूल्यांकनमा समावेश गरिनेछ । आयोगले तयार गरेका निर्वाचन सम्बन्धी भिडियोमा पनि टिकटक निर्माण गर्न सकिनेछ ।

Recent Post