भक्तपुरमा लागूऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुर नगरपालिका-७ कमलविनायकबाट नियन्त्रित लागूऔषध फेनारगन ६ सय ७० एम्पुल, नुर्फिन ५ सय ३८ एम्पुल, डाईजेपाम ५ सय ८८ एम्पुल र ११ थान हेलमेट सहित २ जनालाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भएका ३३ वर्षीय रविन तामाङ र उनकै श्रीमती ३४ वर्षीया सुस्मिता खड्का रहेका छन् । कमलविनायक एरियामा विभिन्न मितिमा पार्किङ स्थलबाट हेलमेट हराएको भन्ने निवेदनको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध र हेलमेट सहित पक्राउ गरेको हो ।

यस्तै बाँकेको राप्तीसोनारी गाउँपालिका-९ ढकेरीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १४ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगपालिका-१५ रतनपुर बस्ने २७ वर्षीय भरत चौधरी र तुलसीपुर उपमहानगरपालिका-१८ हेमन्तपुर घर भएका २८ वर्षीय किरण तिवारी रहेका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुर र अस्थायी प्रहरी बिट ढकेरीबाट खटिएको प्रहरीले रा.१ ब ८९९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवारी उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँबाट अवेध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८ ग्राम २ सय १० मिलीग्राम सहित सोही उपमहानगरपालिका-५ बस्ने २७ वर्षीय खगेन्द्र डाँगी समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले रा.७ प ७२०० नम्बरको जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरि तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध गाँजा करिब २ केजी सहित चितवन कालिका नगरपालिका-८ बस्ने २६ वर्षीय राजन बुढाथोकीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिनपुलजिपबाट खटिएको प्रहरीले चितवनबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ८७८३ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

उक्त विषयमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Recent Post