काठमाडौँ महानगरपालिकाले दमकल सेवा, सरसफाई, कल सेन्टरबाट हुने स्वास्थ्य परामर्श, भाइटीकाका दिन साधारणका लागि रानीपोखरी खुल्ला गर्ने, व्यवस्थापन गर्नेलगायत अत्यावश्यक सेवालाई पर्वका समयमा पनि नियमित सञ्चालन गर्ने भएको छ ।

आइतबार बसेको विभागीय प्रमुखहरुसँग बैठकमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले अत्यावश्यक सेवा, सार्वजनिक सम्पत्तिको सुरक्षालगायत काम कर्मचारीलाई आलोपालो खटाएर सञ्चालन गर्ने बताउनुभयो।

पर्व विदाका समयमा कार्यालयको भौतिक सुरक्षा र अत्यावश्यक सेवाका काम रोक्न मिल्दैन । यसलाई नियमित गरौँ । उहाँले भन्नुभयो, ‘पर्वपछाडि हामीले धेरै काम गर्नुपर्नेछ । त्यसैले कसैले पनि विदामा बस्ने सोच नबनाउनुहोला ।’

बैठकमा सामुदायिक शिक्षा प्रणालीलाई प्रविधिमा आधारित बनाउन डिजिटल एण्ड वियोन्डसँग गरिएको सम्झौता, महानगरलाई गुगलबाट शैक्षिक क्रियाकलापका लागि प्राप्त हुने सुविधाको सहजीकरणका लागि वियोन्डका दायित्वका विषयमा छलफल भएको जनाइएको छ।

यसैगरी कर्मचारी स्वास्थ्य वीमालेखका विषयमा छलफल भएको थियो । जोखिममा काम गर्ने कर्मचारीहरुलाई प्राथमिकतामा राखेर गरिने स्वास्थ्य वीमालेखअन्तर्गत दुर्घटना वीमा, महामारीजन्य वीमा, ठूला रोगका लागि गरिने वीमा, सामान्य उपचारका लागि गरिने खर्च सम्बन्धी वीमा, अस्पताल भर्ना हुनु नपर्ने तर महङ्गो शुल्क तिरेर गरिने उपचार पद्धतिका लागि गरिने वीमा जस्ता विषयमा छलफल भएको थियो ।

Recent Post