
“सेन्ट भ्यालेण्टाइन डे” को सुरुवात सन २६९ मा फ्रेवुअरी १४ मा रोमन क्याथोलिक चर्चका सन्त भ्यालेनटाइनले सुरुवात गरेका थिए। त्यहांका सम्राट क्लाउडियसलेआफ्ना सैनिकहरूलाई प्रेम र विवाह गर्न बन्देज लगाएका थिए। यो कुरालाई नकार्दै भ्यालेनटाइनले प्रेममा रहेका जोडीहरूको विवाह गराईदिएका थिए तर सम्राटले थाहा पाउनेवितिकै समातेर भ्यालेटाइनलाई जेल चलान गरेका थिए। पछि उनको त्यहीं हत्या गरेको वताइन्छ। पछि सन ४९६ मा उनलाई पोप गेलिसियसले भ्यालेनटाइनलाई सहिद घोषणा गरे र फेब्रुअरी १४ लाई प्रेम दिवसका रूपमा मनाउने प्रचलनमा बस्यो।
सर्वप्रथम त प्रेम भन्ने शब्दलाई बुझ्न आवश्यक छ। मलाई लाग्दैन माया गर्न यो “डे” आउनु पर्छ। प्रेम गर्नेलाई कुनै दिन हेरिदैन र मतलब हुदैन। प्रेम गर्नेहरुको लागी हरेक दिन प्रेमिल बनेको हुन्छ । यो त वस अनुभव गर्ने र अनुभुति दिलाउने कुरा हो। भगवानले दिएको सबैभन्दा सुन्दर चिज नै प्रेम हो र यसलाई हरेक दिन यसरि नै खुसी दिन सक्नुपर्छ। नत्र प्रेम शब्द पनि घातक हुन जान्छ। प्रेम अनुभुति गर्न सक्दा उजाड मरुभुमिमा हरियाली पालुवा हो। वसन्त ऋतुको आगमन हो। तिर्खाएको मनुष्यलाई पानी हो। चर्को घामले पोलेको बेला शितल छहारी हो।
प्रेमलाई भन्दा क्षणिक भावनात्मक आवेग र शारीरिक आकर्षणलाई केन्द्रमा राखेर गरिने गतिविधिलाई नै हामीकहां प्रणय दिवस भनेर बुझ्ने र मनाउने गरिँदै आएको छ । जुन गलत मात्र होइन, खतरनाक पनि छ । पश्चिमी मुलुकबाट सुरूवात भएको यस दिवस नेपालमा पनि संस्कृतिको रूपमा विकास हुँदै गइरहेको छ । विशेषगरी युवाहरूबीच लोकप्रिय यस दिवसमा विकृति पनि बढ्दै गइरहेको छ ।
मायामा कुनै स्वार्थ र शर्त हुनुहुँदैन । मायाको अर्थ मन पराउनु मात्र होइन, हृदयको तहमा स्वीकार गर्नु हो । माया यस्तो होस्- सम्झँदा मात्र पनि मन आह्लादित होस्, आनन्दित होस्,पल्लवित होस्, अनि जीवनलाई नै उत्प्रेरित र ऊर्जाशील गराउन सकोस् । मलाई लाग्छ- हरपल हरक्षण मुटुको धड्कनसँगै जीवनमा धड्किरहने गतिको नाम हो प्रेम ।” मानवप्रेममा कहिल्यै सम्झौता र स्वार्थ हुँदैन; हुन्छ त केवल त्याग हुन्छ, समर्पण हुन्छ । मानवप्रेममा मृत्यु होइन, मुक्ति हुन्छ; स्वार्थ होइन, समर्पण हुन्छ; बन्धन होइन, स्वतन्त्रता हुन्छ; प्राप्ति होइन, त्याग हुन्छ ।
ब्यस्तता बढ्दो छ मान्छेमा । व्यस्तताको वावजुद जीवनलाई झनै व्यवस्थित गर्ने चुनौति थपिएको छ । समयको व्यवस्थापनमा नै जीवनको सफलता लुकेको हुन्छ । मान्छेहरू भन्छन् प्रेम गर्न आजकल समय नै छैन । तर मलाई लाग्छ, केवल भएको समयको ब्यबस्थापन गरे पुग्छ ।
प्रेम हुनलाइ दुरीले छेक्दैन, झरीले रोक्दैन, पहिरोले पुर्दैन तर अनुभुत हुनपर्यो।
आधुनिकताले मान्छेलाई मान्छेबाट वस्तुमा रुपान्तरित गरिदिएको छ । त्यसैले आजको मान्छेले हरेक कुरालाई जोड घटाउको रूपमा लिन्छ।यहाँसम्म कि नाता सम्बन्ध पनि मान्छेका लागि नाफा-नोक्सानसँग तुलना गरेको देखिन्छ।
नेपाली समाजको युवायुवती माझ लोकप्रिय यो दिवस जसरी पनि मान्नुपर्छ भन्ने तर्फ उन्मुख देखिन्छ। जसले गर्दा नयां पुस्ता झन पश्चिमीकरणतर्फ लालयित छ। नेपाली समाजले अगिंकार गरेको खास जसले जसरी प्रेम गरेपनि खासमा विवाह नै हो भन्ने मान्यतालाई हिजोको समयमा जोड दियो तर हिजोको पुरूषार्थ समाजले खुल्न नदिने र प्रेमलाई सत्कार गर्दैनथ्यो । अझ जातियवाद समाजमा यसलाई नकरात्मक रूपमा लिईन्थ्यो। यसका धेरै उदाहरण हाम्रा सामु प्रशस्तै छन। समयको वहाव संगै नेपाली समाजमा थोरै मात्र चेतना विकास भएको पाइन्छ। अहिल् ठिक परिस्थिति त्यही नभएपनि चेतनाको ठुलो अभाव छ। जसवाट हामी प्रभावित छौं।
प्रेम दिवस खास वैज्ञानिक छ कि छैन तार्किक वहस भएकै छैन। समालोचक विषय भएकोले बौद्दिकता हुनुपर्छ । वहसले छेड हान्नुपर्छ । निचोड निस्कनुपर्छ। हाम्रो संस्कृतीमाथी कति असर पारेको छ,ध्यान यतातर्फ पनि मोडिन पर्छ।
जे जस्तो डे र दिवस भएपनि यस्ता दिवसले सबैलाई निस्वार्थ माया गर्न सिकाओस् ! पत्थर बन्दै गइरहेको मानव मुटुमा थोरै भए पनि सवैमा प्रेमभाव पैदा होस। बदलिँदो समयसङ्गै झ्याङ्गिदै गरेको यस पश्चिमा मुलुकहरूको देखासिखी के कति हामिले अपनत्व गर्ने हो वा सिमामा रहेर मनाउने बेलैमा सचेत रहनु आवश्यक छ। नत्र भोलिका दिनमा खुसिले आज भरिएको फेसबुक वालभरि रोदन र बिछोडको कथा पनि समावेश हुदै जाने छन्।